डिजिटल महिला कार्यक्रमले यसरी फेरियो जिन्दगी

January 11, 2018

लक्ष्मी देवी देउवा, अमरगढी शाखा, माष्टामाण्डौं, इकाइ नं. २९६८१.२. डिजिटल महिला । आज भन्दा २६ बर्ष अगाडी विकट डडेलधुरा जिल्लाको गणेशपुर–७ अरकच्टेमा म जन्मिएकी हुँ । हाम्रो परिवारमा म लगायत ६ जना दाजुभाइ दिदी बहिनीहरु छौँ । जसमध्ये छोरीमा म सबैभन्दा जेठी हुँ भने मेरा ३ जना दाजुहरु हुनुहुन्छ । 

विकट भेगको भए पनि जन्मघरको अवस्था समान्य थियो । तर परिवार ठुलो भएको कारण हाम्रो लालनपालनका लागी बुवा आमाले सधै नै दुःख गर्नुपर्यो । घरको खेतीपातीले मात्र हाम्रो परिवार पाल्न गाह्रो भए पछि बुवा परिवारको खुशी र हाम्रो शिक्षा दिक्षाको लागी मुङ्गलान(भारत) जानुभयो । यसरी सन्तानका सुख र हँसिलो मुहारका लागी बुवा आमाले हाडछाला घोटेर दिन रात केही नभनी दुःखका पहाडहरुलाई चिर्दै हामीलाई सधै भरि सुखकै अनुभुती दिनुभयो । आखिर बुवा आमाका सपना भनेका तिनै सन्तान त हुन नि । घरको माया ममतामा पुल्पुलिएर भनु वा साथी संगतीमा लागेर मैले कक्षा ७ सम्म मात्र पढाईलाई निरन्तरता दिने सोच बनाएँ । त्यो बेलाको बुद्घि भनौँ, पढाईका लागि यस्तो दुःख गर्नुभन्दा नाम लेख्न र किताब पढ्न जाने भैहाल्यो नि भनेर म लगायत मेरा अन्य साथीहरुको सोच आयो । धेरै पढेर नि गर्नु केहीछैन, छोरीको जातले जति पढे पनि अर्काको घरमा विहे गरेर पठाईहाल्छन् । कसैका छोरीले जागीर पनि त खाएका छैनन् भन्ने सोच आयो र स्कुल जान छोडेँ। त्यस समयमा घरमा बुवा, दाजुहरु हुनुहुन्नथ्यो । पछि दाजुले मैले पढाई छोडेको थाहा पाउनुभयो । मलाई पढाइको महत्वको बारेमा धेरै सम्झाउनुभयो । तर आफुसँगै पढेका साथीहरु माथिल्लो कक्षामा पुगिसकेकाले लाजको कारण मैले पढाईलाई कुनै पनि हालतमा निरन्तरता नदिने निर्णय गरेँ ।

दाजुको चिन्ता
दाजुले मलाई औधी माया गर्ने हुँदा मैले पछि दुःख पाउँछु भनेर वहाँलाई सधै चिन्ता हुने गर्दथ्यो । र बारम्बार मैले पढाइ छोड्न नहुने भनेर कुरा गर्नुहुन्थ्यो । यहि कारणले होला दाजुले मलाई आफुसँगै केही न केही सिप सिकाउने उद्देश्यले महेन्द्रनगर भा.सि. लिएर जानुभयो । त्यहाँ मैले सिलाइ कटाइको तालिम लिएँ । त्यही समयमा गाउँघरमा मेरो विवाहको बारेमा कुरा चल्न थाल्यो । लक्ष्मीले पढाई पनि छोडिहाली, विवाह गर्ने बेला पनि भैहाल्यो, पछि उमेर छिप्पिए पछि विवाह गर्ननि गाह्रो हुन्छ । राम्रो घर पाए विवाह गर्नु पर्छ भन्ने सल्लाहा भयो । विवाहको कुरालाई मैले नाइनास्ति गर्दा गर्दै १७ बर्षको उमेरमामाष्टमाण्डप – ७, डडेलधुरा निवासी रमेश बहादुर देउवासंग २०६४ सालमा मेरो विवाह भयो । छोरीको जन्म हारेको कर्म भने झै विवाहको बेला केटा पक्षले मलाई तिमीले पहाडमा दुःख गर्नु पर्दैन, हाम्रो तराईमा पनि जग्गा जमिन छ । विवाहपछि उतै गएर घरजम गर्ने हो भनेका थिए । तर पछि घरका आफन्तले तराईको सम्पत्ति सबै हाम्रो हो तिमीहरुको पहाडको मात्र हो भने पछि म छाँगाबाट खसे जस्तो भए । त्यस समय म धेरै रोए ।

भविष्य र परिवारको चिन्ता
घरमा श्रीसम्पत्ती जे जति भए पनि मेरो श्रीमानको माया म प्रति धेरै नै थियो । म रोएको बेलामा वहाँले मलाई सम्झाउने गर्नुहुन्थ्यो । किन रोएकी, तिमीलाई म सधै भरि सुखले राखँुला, जति दुःख गर्नु परे पनि म गरिहाल्छु, धनसम्पत्ती त कमाई हालिन्छ । तर सोचेजस्तो हुन्न जीवन भनेझँै माईतमा खासै काम नगरेकी एकै पटक व्यवहारमा पर्दा मलाई निकै नै गाह्रो भयो । घरको अवस्था र परिवारको खुशीको लागी मेरा श्रीमान विवाह गरेको ४ महिनापछि मुङ्गलान(भारत) जानुभयो । श्रीमान मुङ्गलान गएपछि म झन् एक्लो भएको महशूस गर्न थाले । सँधैभरी माईत र श्रीमानको याद आउँथ्यो । बिचैमा पढाई छोडेको निकै पछुतो लागिरेहेको थियो । घरको काम सकिनसकि जसो तसो गर्दै जाँदा पछि कामले पनि चिन्न थालेछ । घरको कामहरु गर्दा बानी पर्न थाल्यो । श्रीमानले बेला बेलामा फोन गर्नुहुन्थ्यो, घर खर्चको लागी पैसाहरु पठाइदिनु हुन्थ्यो । लाउन खानलाई दुःख भएन । तर भविष्य र परिवारको चिन्ता कस्लाई हुदैन र ? मलाइ पनि परिवारको चिन्ताले पोल्न थाल्यो । सधै भरि चुल्हो र चौकामा मात्र म सिमित भएर बस्नु भनेको परिवारको भविष्य अन्धकारमा धकेल्नु हो जस्तै लाग्यो । आफुले जानेको सिप सिलाई कटाईको काम गर्नुपर्यो भन्दा परिवारको अनुमति पाइँन । आफुले केही गर्छु भनेको काम गर्न नपाउँदा त्यो पिडा मनभित्र रह्यो र मेरा सपना चुल्होको रापसँगै दैनिक चुलो चौका गर्दै जल्न थाल्यो ।

बिहे गरेको एक वर्षपछि छोरी जन्मिई । छोरीले जन्मले खुसी त ल्यायो, साथमा जिम्मेवारी पनि बढ्यो । दिनहरु आजभन्दा भोली झन कठिन हुन थाले । श्रीमानको मुङ्गलानको कमाईले कुनै प्रगती हुने छाँटकाँट थिएन् । मैले श्रीमानलाई मुङ्गलान नजानुस, गएर पनि खासै केही गर्न सकिएन, बरु रुखो सुखो खाएर यतै कुनै व्यवसाय गरौँ भन्ने सल्लाह दिन्थेँ । श्रीमान पनि मेरो कुरामा सहमत त हुनुहुन्थ्यो । तर कुन व्यवसाय गर्ने ? यसको जवाफ नपाएपछि श्रीमान् मुङ्गलान तिर नै जानुभयो । बिहे गरेको चार बर्षपछि मेरो दोस्रो सन्तानका रुपमा छोरी जन्मिइन । श्रीमानले पनि मुङ्गलानमा सोचे जस्तो काम पाउनु भएन । मैले पनि यहाँ केही गर्न सक्ने स्थिति थिएन । जिन्दगीलाई टेको लगाएर जसो तसो चलाई नै रहेको थिएँ । सधै भरि यस्तै दुःख त हुदैन होला, मेरा पनि खुशीका दिन आउलान् भन्दै मेरो आशाका सपना छोरीहरुको मुख हेरेर चित्त बुझाउथेँ । विवाह गरेको ८ बर्षसम्म मुङ्गलान जाने आउने क्रम चलिनै रह्यो । आर्थिक रुपमा समस्या आएपनि श्रीमान्को साथ र सहयोग भने सँधै नै पाइरहेँ । वहाँले मलाई कहिल्यै गाली गर्नु भएन । हाम्रा सुखका लागि वहाँले सधै भरि बिदेशी भूमीमा पसिना बगाई रहनुभयो ।

समस्याको भुमरी
यसैबीच, अकस्मात मेरो श्रीमान सम्पर्कविहीन हुनुभयो । कहाँ हुनुहन्छ ? के गर्दै हुनुहुन्छ? केही थाहा हुन छोड्यो । एक दिन पनि फोन नगरि नबस्ने मान्छे, हप्ता, महिना, बर्ष कुर्दा पनि फोन आउन छाड्यो । सम्पर्क गर्न हरेक प्रयासहरु गरे पनि मैले मेरो श्रीमानको केही अत्तोपत्तो पाउन सकिनँ । दुःखीको पिडामा झन् दुःख थपियो । म बिस्तारै बिस्तारै समस्याको भुमरीमा पर्न थाले । भित्रबाट म निकै कमजोर भईसकेको थिएँ । जिन्दगीदेखि मलाई बितृष्णा आइसकेको थियो । बाँच्नुको कुनै अर्थ देखेको थिइनँ । मेरो यस्तो अवस्था देखेर मेरो दाईले मलाई धेरै सहयोग गर्नुभयो । समस्या पर्दा म छु भन्नुभयो । तर मेरो जिन्दगीको लागि त्यो पर्याप्त थिएन । मलाई लाग्थ्यो म माईतिको भार हुँदैछु । यस्तो बेला मेरो मनमा धेरै नै नकारात्मक सोचहरु आउँथ्यो ।

छिमेकी लघुवित्तको सहारा
के गरु कसो गरुँ भनेर छटपटाइरहेको बेला एक दिन आफन्त दिदीले छिमेक बैंकको समुहमा बस्ने हो ? भनेर सोध्नु भयो । कस्तो समुह ? के गर्ने ? आफुलाई केही थाहा नभएकोले सुरुमा डर लाग्यो । तर बैंकले दिएको तालिम लिएपछि सबै कुरा बुझ्दा बस्न मन लाग्यो । आफुसँग बचत गर्ने पैसा नभए पनि छोरीहरुको भविष्यको लागि खाईनखाई बचत गर्ने अठोट गरेर समुहको सदस्य बनेँ । समुहमा बसेपछि आफुलाई पहिलेको भन्दा अलि सजिलो लाग्न थाल्यो । समुहका दिदी बहिनीहरुसँग मनका कुराहरु साटासाट गर्न पाउँदा ठुलो भारी बिसाए जस्तो लाग्थ्यो । समुहमा आवद्घ भएपछि बचतसँगै मैले ऋण पनि लिन थालेँ । लिएको ऋण मैले कृषि व्यवसायमा लगाएँ । म एक्लो भएको बेलामा दुई चार पैसा सरसापट माग्दा कसैले पत्याउँदैन थिए । यसका श्रीमानको अत्तोपत्तो छैन, यस्तालाई पैसा दियो भने कसरी तिर्छे भनेर मुखभरिको बचन लगाउँथे । मेरो मनमा अब छिमेक बैंकको साथ लिएर केही गर्नु पर्छ भनेर एउटा इख पलाएको थियो ।

डिजिटल महिला बन्ने प्रस्ताव
के गर्ने भन्ने कुरा मनमा खेलिरहँदा बैंकको सर आएर समुहमा कोही डिजिटल महिला बन्न ईच्छुक हुनुहन्छ भनेर प्रस्ताव राख्नु भयो । डिजिटल महिलाको बारेमा सरले सम्झाउदै गए पछि आफुलाई नै बन्न मन लाग्यो । तर आफुले धेरै नपढेकी, घरको समस्या आदि कारणले गर्दा गर्न सक्दिन कि जस्तो लागेको थियो । तर समुहका दिदीबहिनीहरुले तिमीले सक्छौ गर,हाम्रो साथ छ भनेर हौसला बढाउनु भयो भने सरहरुले पनि झनै हौसला थपिदिएका कारण आँट गरेर म गर्छु भनेर नाम टिपाएँ ।

बैंकले मलाई आधुनिक डिजिटल पद्घतीमा आधारित बैकिङ्ग तालिम दिएको छ । मैले सदस्यहरुको हरहिसाव ट्याव्लेट चलाएर राख्छु । मैले अहिले गरिरहेको काम लघुवित्त क्षेत्रमा नयाँ प्रबिधीमा आधारित पद्घती भएको सुन्दा आफैंलाई गर्व लाग्छ । अहिले मैले समुहको बैठक आफैँ चलाउनुका साथै दिदीबहिनीहरुको किस्ता बचतको हिसाव ट्याव्लेटबाट राख्ने गरेकी छु । हिजो राम्रोसँग मोवाईल चलाउन नजान्ने म आज टयाब्लेट चलाएर बैंकको हर हिसाव अरु सर मिसहरुले जसरी नै गर्दा आफै दङ्ग परेकी छु । हिजो गाउँ समाजमा मेरा कुराकाटनेहरु मैले बैंकको झोला बोकेर डिजिटल महिला भई बैंकको जागिर खाएको देखेर जिब्रो टोक्ने गर्छन् । म यस कामसँग साह्रै रमाएको छु । अझ धेरै सिकेर यस समाजमा पिछडिएर रहेका दिदीबहिनीहरुलाई यस बैंकको सेवा सुबिधा उपलब्ध गराएर वहाँहरुको प्रगती गराउने मेरो ठुलो धोको छ ।

बैंकमा मैले सेवा गरे बापत आउने पारिश्रमिकले मेरो सवै समस्या टारेको छ । मलाई घर चलाउन देखि लिएर भविष्यमा छोरीहरुको पढाईको खर्च समेत जोहो गर्न थालेकी छु । तर आफुले कमाएको पैसा श्रीमानलाई गन्न दिने मेरो धोको अधुरै रहेको छ । एक पटक मेरा श्रीमान आइदिनुभयो भने वहाँलाई म कहिल्यै कुनै हालतमा बिदेश पठाउने थिइँन । यस बैंकसँग ऋण लिएर श्रीमानलाई कुनै ब्यवसायमा लगाउने पनि धोको रहेको छ ।

छिमेक लघुवित्तले बढाएको आत्मबल
मेरो अहिले आत्मबल छिमेक बैंकले बढाएको हो । म आज जस्तो सुकै समस्यालाई पनि सामना गर्न सक्ने क्षमता आएको छ । मलाई मेरो र मेरा छोरीहरुको भविष्य सुनिश्चित भए जस्तो लाग्छ । अहिले मैले मान, सम्मना, इज्जत र पैसा सबै थोक पाएकी छु । यस बैंकले मलाई ठुलो गुण लगाएको छ त्यो गुण मैले कहिले पनि तिर्न सक्दिन । हिजो सम्म परिवारको चिन्ताले मेरा दिन टोलाएर बित्थ्यो भने अहिले भविष्यको मिठा ताना बाना बुनेर बित्छन् । मेरो सास रहिन्जेल सम्म यस बैंकमा मेलै सेवा गर्ने सोच बनाएको छु ।हिजोको मेरो त्यस्तो अवस्था बाट आजको यस्तो अवस्थामा मलाई ल्याइदिने मेरो शाखा कार्यालयको सर, मिस, मेरो समुहका दिदी बहिनी र यस बैंकलाई मुरी मुरी धन्यबाद दिन चाहन्छु र सवै शुभचिन्तक प्रति कृतज्ञ छु ।

 

In photo: Laxmi Dueba (holding the tablet), along with other Digital Mahilas and Sakchyam Team in Mastamandu Digital Point.

This article was originally published in bankingkhabar.com on 9th January 2018. 

Related posts

Many rural areas of Nepal have a presence of Microfinance Institutions (MFIs) branches serving the local population, however, still, there...(more...)
Sakchyam’s Digital Mahila is the first women-led technology campaign in the microfinance industry in Nepal, where women are equipped with...(more...)

featured case stories

Ganga Gharti, like any mother, wants a better life for her children. “I didn’t go to school past the 5th...(more...)
लक्ष्मी देवी देउवा, अमरगढी शाखा, माष्टामाण्डौं, इकाइ नं. २९६८१.२. डिजिटल महिला । आज भन्दा २६ बर्ष अगाडी विकट डडेलधुरा जिल्लाको गणेशपुर–७...(more...)
Like many from her community, Basanta Kumari Raskoti’s husband Khum Bahadur Raskoti sought to go abroad for employment in the...(more...)