किसानहरूलाई सजिलो खेतिपाती कर्जा: बैंक अफ काठमाडौँ, बेल्लौरी शाखाको अनुभव

‘लगन पछिको पोतेको काम हुदैन’ भने जस्तै समयमा रकमको जोहो गर्नु कति महत्वपुर्ण हुन्छ भन्ने कुरा किसान जति शायदै अरु कसैले बुझेका हुन्छन। तर पनि सो बुझाई यथार्थमा कमै झल्किने गर्दछ। वित्तीय साक्षरताको कमी, कृषिमा आधारित आय, सुहाउँदो वित्तीय सेवाको अभाव जस्ता कारणले खेतीपाती गर्ने समयमा पैसाको अभाव हुनु किसानहरुको पुरानै समस्या हो। विशेषत: खेतीपातीमा आधारित मौसमी आय (seasonal income) संग मेल खाने कर्जा सुविधा नहुनुले उनीहरुको समस्यालाई अझै ठुलो बनाएको हुन्छ। उखुखेती जस्तो वर्षमा एक पटक आय/आम्दानी हुने खेतीमा संलग्न किसानहरुलाई मासिक/त्रै-मासिक भुक्तानीमा आधारित कर्जा सेवा भन्दा उखु बेचेर आएको पैसाले एकै पटकमा कर्जा भुक्तानी गर्न पाउनु सजिलो र सहज हुने गर्दछ।

सक्षमसंगको सहकार्यमा कंचनपुरको बेल्लौरीमा शाखा खोलेर त्यहाँका किसानहरुलाई वित्तीय सेवा दिन थालेको बैंक अफ काठमाडौँ (BOK) ले सो कुरालाई राम्रोसंग बुझेको थियो। बैंकले त्यहाँका किसानहरु, चिनी मिल, अन्य सरोकारवालाहरु अनि सक्षमसंगको छलफल पश्चात किसानहरुको माग अनुसारको सरल सहज भुक्तानी प्रक्रिया सहितको नयाँ कर्जा सुबिधा ‘सजिलो खेतीपाती कर्जा’ बेल्लौरी लगायत सक्षमसंगको सहकार्यमा खोलिएका अन्य ५ शाखाबाट February 1, 2016 मा pilot testing को रुपमा शुरुवात गरेको थियो। त्यो कर्जा सुबिधाको बारेमा बेल्लौरी शाखामा स्थापना काल देखी नै कार्यरत् शाखा प्रबन्धक, सागर ओझाको अनुभव यस्तो छ:  “बैंक अफ काठमाडौँ लिमिटेड बेल्लौरी शाखाले ‘सजिलो खेतीपाती कर्जा’ अन्तर्गत झन्डै १३०-१४० किसानहरुमाझ यो सेवा प्रदान गरिरहेको छ। कर्जा उपभोग गरिरहेका किसानहरुले खेतीपाती गरे नगरेको अवलोकन गर्दा पहिले भन्दा धेरै नै खेतीपाती गरिरहेको हामीले पाएका छौँ।  यो बारे अझ बिस्तृत रुपमा बुझ्न हामीले  हालै बेल्लौरीको भकुण्डा भन्ने ठाउँमा ३०-४० जना किसानहरु संग अन्तरक्रिया गरेका थियौं। उक्त भेलामा हामीले किसानहरुको सल्लाह, सुझाब र सन्तुष्टिको बारेमा छलफल गरेका थियौं। सो क्रममा भकुन्डे निवासी एक जना किसान ‘कन्हैया राना’ले पहिला आफुले जम्मा १ बिगाह क्षेत्रफ़लमा उखुखेति गरिरहेको र सस्तो सुलभ कर्जाको अभावका कारण त्यसलाई विस्तार गर्न नसकेको अनि अहिले ‘सजिलो खेतीपाती कर्जा’ लिएर उखुखेती लाई ७ बिगाह क्षेत्रफ़लमा विस्तार गरिसकेको अनुभव सुनाउनु भयो। यसरी पहिला झन्डै १ लाख हुने आम्दानी अहिले ७ लाख पुगेको र अहिले आएर छोराछोरीलाई पढाउने, घर-खर्च चलाउने जस्ता समस्या धेरै हद सम्म समाधान भएको उहाँको अनुभव छ। घर-गाउँको भन्दा धेरै सस्तो व्याजदरको कर्जा त्यो पनि चाहिएको बेला निकाल्ने अनि पैसा भएको बेला तिर्न मिल्ने सुविधाका कारण यो कर्जाले उहाँ जस्ता अन्य धेरै किसानलाई सजिलो बनाइदिएको र थप खेतीपाती गर्न हौसला दिएको वहाँले प्रस्ट्याउनु भयो। साथै कर्जाको सिमा अझ बढाएर बाटो-घाटो नपुगेको कृषि-योग्य जग्गालाई पनि ध्यान दिएर सो कर्जालाई अझ बढी भन्दा बढी किसानलाई उपयोगी हुने बनाउन सकिने वहाँको सुझाब थियो। समग्रमा हेर्दा यो कर्जा सुविधाले यस क्षेत्रका किसानहरुलाई थप खेतीपाती गर्न उत्साहित गरेको र लिएको कर्जालाई राम्रो सदुपयोग गरेको हामीले पाएका छौँ।”

सरल प्रक्रिया, किसानहरुको आय अनी खेतिपातीको मौसम सुहाउँदो कर्जा पुनर्भुक्तानी जस्ता सुविधा भएको ‘सजिलो खेतीपाती कर्जा’ ले बेल्लौरीका उखुखेतीमा लागेका किसानहरुलाई थप खेती गर्न सहयोग गरेको देखिन्छ। यसरी किसानहरुको आवस्यकता अनुरुप नयाँ सेवा र सुबिधाको विस्तार गर्नुले किसान अनी उनीहरुलाई सेवा प्रदान गर्ने संस्था दुवैलाई फाइदा गर्छ भन्ने कुरा बैंकको यो अनुभवले देखाएको छ।

 

लेखन: राजु श्रेष्ठ,सक्षम -एक्सेस टु फाइनान्स कार्यक्रम तथा सागर ओझा,बैंक अफ काठमाडौँ